यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना चक्नाचुर



काठमाडौँ। कर्णाली प्रदेश, एमाले संसदीय दलका नेता यामलाल कँडेलकाे मुख्यमन्त्री बन्ने सपना चक्नाचुर बनेको छ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न तारान्तर लागि परेका कँडेल यसपाली पनि असफल बनेका छन्। गत चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले ५ चैतदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी एमालेका तीनजना मन्त्रीले चैत २४ गते राजीनामासमेत दिएका थिए। शुक्रबार प्रदेशको सातौं अधिवेशनमा फ्लोर क्रस गरेर शाही नेतृत्वको सरकार जाेगाएपछि आफ्ना सांसदहरुप्रति नेता कँडेल आक्रोशित बनेका छन्।

उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो। यो राजनीतिक अपराध हो। हामी अब बिधानअनुसार चल्नेछौँ।’

फ्लोर क्रस गर्ने सांसदहरुलाई एमाले संसदीय दलले कारबाही गर्ने जनाएको छ। फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन्।​ सांसद देवी ओलीले भने शाहीको पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याएकी थिइन्।