काठमाडौँ। २०७४ को स्थानीय तहको निर्वाचनमा चुनावी सहकार्य गरेका कांग्रेस र माओवादी पुनः एक पटक एकै ठाउँमा उभिएका छन्।
तत्कालिन कांग्रेस र माओवादीको सरकार रहेकै बेला एमालेसँग एकता गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधाबार गण्डकी प्रदेशको सत्ता परिर्वतनका बारेमा सहमति भएको थियो।
केपी ओली सरकारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा गठबन्धन बनाउने प्रयास गरे पनि सफलता नमिलेको अवस्थामा प्रदेश तहमा भने एमालेको सरकार ढाल्न दुई पार्टीबीच औपचारिकरुपमै गठबन्धन शुरु भएको छ
कांग्रेस र माओवादीको सत्ता सहकार्य गण्डकी प्रदेशबाट सुरु भएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको उच्च सहमतिसँगै गण्डकीमा माओवादीले काँग्रेसलाई सघाउनेछ भने लुम्बिनीमा कांग्रेसले माओवादीलाई सघाउनेछ।
नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई विस्थापित गर्न सम्भव भएको ठाउँमा कांग्रेस र माओवादीबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो। यही सहमतिअनुसार नै गण्डकीमा काँग्रेस र माओवादी केन्द्रबीच सहकार्य सुरु भएको नेताहरु बताउँछन्। गण्डकीमा नेपाली कांग्रेस र लुम्बिनीमा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको कांग्रेसका संघीय मामिला एवं प्रदेश समन्वय विभागका प्रमुख रमेश रिजालले जानकारी दिए ।
‘केपी ओली नेतृत्वको एमालेको सरकार गिराउनका लागि अंक गणितीय हिसाबले जो–जोसँग कुरा मिल्छ, त्यो– त्योसँग समझदारी गरेर अगाडि बढ्ने हाम्रो नीति हो’ रिजालले भने, ‘एमाले सरकार विस्थापित गर्न हामी जुनसुकै पार्टीसँग तालमेल गर्न तयार छौं।’