काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई लिखित रुपमा समर्थन जसपा अध्यक्ष ठाकुरसँग आग्रह गरेका छन्।
कार्यदलसहित जसपा नेपालका अध्यक्ष ठाकुरसँग बिहिबारको छलफलमा प्रधानमन्त्री ओलीले आधिकारिक घोषणा गर्नका लागि लिखित रुपमा समर्थन गर्न आग्रह गरेको स्रोतले जनाएको छ।
जसपाको माग पुरा गर्न सरकारले प्रकृया सुरु गरिसकेको हुनाले अब जसपा नेपालले पनि आधिकारिक घोषणा गर्नुपर्ने प्रधानमन्त्री ओलीले भनेको बैठकमा सहभागी एक नेताले बताए। माओवादी केन्द्रले जुनसुकै बेला सरकारबाट समर्थन फिर्ता लिने सक्ने भएका हुनाले प्रधानमन्त्री ओलीले सरकारको समर्थनको सुनिश्चितता खोजेका छन्। सरकारविरुद्ध मोर्चा बनाउने गतिविधि तीब्र भएको कारण प्रधानमन्त्री ओलीले जसपा नेपालको साथ खोजेका छन्।
प्रधानमन्त्री ओलीले गरेको आग्रहमा अध्यक्ष ठाकुरले अहिलेसम्म जसपाले कसैलाई समर्थन नगरेको जवाफ दिए। मुद्दा फिर्ता र बन्दी रिहाइ भएपछि त्यस आधारमा पार्टीमा छलफल गर्न सजिलो हुने भएकाले चाँडै नै मुद्दा फिर्ता र बन्दी रिहाइको कार्य गर्न ठाकुरले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले काँग्रेस र माओवादी केन्द्रसँग छलफल चलाइरहेका बेला प्रधानमन्त्री ओलीले जसपाका अर्का अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन्। प्रधानमन्त्री र ठाकुरबीचको छलफलपछि कार्यदलको बैठक जारी छ।