गण्डकी प्रदेशसभा बैठक बोलाउन समावेदन



काठमाडौँ। गण्डकी प्रदेशसभाको बैठक बोलाउन माग गर्दै कांग्रेससहितका तीन दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन निवेदन दिएका छन्। मुख्यमन्त्री गुरुङले एकाएक प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि प्रमुख तीन दल काँग्रेस, माओवादी र जसपाको बैठक बसेर समावेदनमा जाने निर्णय भएको थियो।

उसो त मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि त्यसलाई छल्न गुरुङले बुधबार रातिको मिति राखेर अधिवेशन अन्त्यको घोषणा प्रमुखमार्फत गराएका थिए। मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो।

तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएपछि गुरुङ संकटमा परेका हुन्।

जनमोर्चाको गीन सिग्नलमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन्।

अविश्वासको प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ भने जनमोर्चाले हस्ताक्षर नगरेपनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताइएको छ।