काठमाडौँ। नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ। मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट भेटिएको हो।
ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। कृष्णप्रसाद पौडेलले बताए।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने, ‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’
एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ। तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ।
निर्देशक पौडेलका अनुसार एसजिन नेगेटिभ र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालमा पठाइएको बताए । तीमध्ये २१ देखि ५९ वर्ष उमेर समूहका ९ जनामा यूके भेरिएन्ट ९बी।१।१।७० देखिएको पौडेलले जनाकारी दिए । ती ९ जनामध्ये कास्कीका २ जना, काठमाडौंका ४ जना, भक्तपुरमा २ जना र नुवाकोटका १ जना छन् । त्यस्तै दार्चुलाबाट संकलन गरिएको एउटा नमुनामा भने ‘भेरिएन्ट अफ नन कन्सर्न’ देखिएको उनले बताए ।
नयाँ भेरिएन्ट देखिएका संक्रमितको विवरणका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको पनि निर्देशक पौडेलले बताए। काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको पनि निर्देशक पौडेलले जानकारी दिएका छन्। यूके भेरिएन्ट देखिनेमा ४ वर्षमुनिका २ जना, ५–९ वर्षका १ जना, १०–१४ वर्षका ३ र १६–१९ वर्षका ४ जना छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको जनाए । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।