‘व्यक्तिगत तथा गुटगत स्वार्थ त्याग्ने हो भने मात्रै देश बन्छ’



काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य राजिव विक्रम शाहले आरोप प्रत्यारोपभन्दामाथि उठेर नेपाल र नेपाली जनतालाई राखेर राजनीतिक निकास खोजिनुपर्ने बताएका छन्।

राजधानीको बागबजार स्थित होटेल हार्दिकमा सवाल मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता शाहले उक्त कुरा बताएका हुन्। उनले वर्तमान समयमा देखिएका समस्याहरु समाधानका लागि व्यक्तिगत र दलगत स्वार्थ त्याग्नुपर्ने बताए।

उनले भने, ‘हिजोका दिनमा कांग्रेस सरकार बनायो। अन्यलाई भुल्यो। एमाले, माओवादी शक्तिमा पुग्यो। उसले पनि जनता भुल्यो। पार्टीका नेता, कार्यकर्ता बाहेक अरुको कुनै अस्तित्व बुझेन। देखेन । तर, हामीले अरुलाई ओरोप लगाउने र आफू उम्किने गर्छौं। यहि हो हाम्रो कमजोरी। अरुलाई आरोप लगाउने मात्र होईन, आलोचना। समिक्षा र समालोचना गरेर अघि बढ्नुपर्छ।’

त्यस्तै नेता शाहले शक्तिराष्ट्रहरुको खेल मैदानका रुपमा नेपाललाई प्रयोग गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। राजनीतिक दलहरुबीच आन्तरिक लोकतन्त्र र अन्तरपार्टी लोकतन्त्रको अवस्था संकटपूर्ण रहेका कारण शक्तिराष्ट्रहरुको चलखेल बढेको उनले भनाइ छ।

नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील शाहले पछिल्लो समय दक्षिण एशियाली राष्ट्रहरु दन्द्धग्रस्त बन्दै गइरहेको बताए। उनले भने, ‘पछिल्लो समय दक्षिण एशियाका देशहरु आन्तरिक राजनीति, सामाजिक, आर्थिक, धार्मिकलगायतका दन्द्धमा फसिरहेका छन्। अफगानस्तान, हाल म्यानमार यसका उदाहरण हुन्। हाम्रो नेपाल पनि राजनीतिक रुपमा निक्कै अस्थिर छ। नेपालको भूराजनीति चिन्ताजनक छ। त्यसैले सबै राजनीतिक दल, सबै नेपालीहरुले देशलाई सबैभन्दामाथि राखौैं। यसमा सबैकाे भलाे हुनेछ।’

उक्त कार्यक्रममा पूर्वगृहराज्यमन्त्री तथा प्रतिनिधि सभा सांसद श्यामकुमार श्रेष्ठ प्रमुख आतिथिका रुपमा उपस्थित थिए। त्यस्तै नेकपाका नेता एवं संविधान सभाका सांसद तारानाथ श्रेष्ठ, नमोवुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपि शर्मा (तिमलसिना) लगायतको उपस्तिथि रहेको थियो।