३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान



काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आन्दोलनमा योगदान पुर्याएका समाजका ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान प्रदान गरेका छन्।

२०६२÷०६३ को जनआन्दोलन, माओवादी जनयुद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो।

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका छन्। तर, प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगार्इदिएका थिए। त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए। उनी लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुन्।जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकाले सम्मान सम्भव भएको बताए। उनले यसअघि माओवादी नेतृत्वको सरकार भएको भएपनि यस्तो सम्मान हुन नसकेको बताए।