काठमाडौँ। अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ। राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ।
यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति सम्मेलनमा अफगानिस्तानको सरकार र तालिबान सहभागी हुने खबर आएलगत्तै राष्ट्रपति बाइडनले सेना फिर्ताको घोषणा गर्न लागेका हुन्।
गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्ने सम्झौता भएको थियो। तर सम्झौताअनुसार हिंसा रोक्ने बाचा तालिबानले पूरा नगरेको भन्दै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएका छैनन्।
अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ। अफगानिस्तानमा खटाइएका आफ्ना सैनिकका लागि अमेरिकाले खर्बौं डलर खर्च गरेको बताइन्छ।