सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबी



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको दाबी गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्। केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए। ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए। सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए।

आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए। करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए।