काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बालबालिकामा धमाधम देखिन थालेको छ।
बालबालिकामा नयाँ भेरियन्ट देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्नेमा जोड दिएको छ। मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न सुझाए पनि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएन।
निजी विद्यालय सञ्चालक तथा सरोकारवालाले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खुल्नुपर्ने अडान राखेपछि सरकारले तत्काल विद्यालयहरु पूर्ववत् अवस्थामै खुल्न दिने नीति लिएको हो। सोमबारको मन्त्रिपरिषद् बैठकमा विद्यालय बन्द गर्ने या नगर्ने भन्नेबारे छलफल भए पनि सरोकारवालाहरुको अडानलाई मध्यनजर गर्दै तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरिएको थियो।
सोमबारै सरोकारवालाले शिक्षा मन्त्रालयले जारी गरेको मापदण्डलाई कडाइका साथ पालना गर्दै विद्यालय खुला राखिनुपर्ने धारणा राखेका थिए। कतिपयले भने बालबालिकामा जोखिम रहँदा रहँदै पनि सरकारले विद्यालय सञ्चालकहरुको दबावमा परेर विद्यालय तत्काल बन्द नगर्ने मुड बनाएको भन्दै असन्तुष्टि पोखेका छन्।