सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता जोगाउनका लागि अन्तीम कसरतमा जुटेका छन्।
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका केही सांसदमा देखिन्छ।
तर, मुख्यमन्त्री शाहीले एमाले माधव समूहका सांसदहरुको थोरै भर मानेको देखिन्छ। तर, एमाले माधव पक्षका सांसदहरुले समेत मुख्यमन्त्री शाहीलाई साथ दिन नसकिने कुरा भनिसकेका छन्। यसै सन्दर्भमा एमाले सांसद सुशिल थापा भन्छन्, ‘हिजोका दिनमा नेकपा पार्टी थियो। हामीले मुख्यमन्त्रीलाई साथ दिएका थियौं। आज नेकपा एमाले र माओवादी केन्द्र फरक फरक अस्तित्वको पार्टी बनिसके। त्यसैले पनि माओवादीको सरकारलाई सहयोग गरिरहन सकिदैन।’
एमालेभित्र मुख्यमन्त्री को बन्ने विवाद छैन ? भनेर सोधिएको प्रश्नको जवाफमा सांसद थापाले भने, ‘एमाले संसदीय दलको नेता यमलाल कँडेल हुनुहुन्छ। उहाँ नै मुख्यमन्त्री बन्नुहुन्छ। केही दिन बाँकी छ। त्यहाँसम्म केही नयाँ परिस्थिति पनि निमार्ण होला। तर, आजका दिनसम्म एमालेभित्र मुख्यमन्त्री को बन्ने ? भन्ने कुराको कुनै विवाद छैन।’
माधव नेपाल पक्षले मुख्यमन्त्रीका लागि दाबी गर्दैन? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा थापाले भने, ‘त्यो कुरा आजका दिनसम्म आएको छैन। केही दिन बाँकी छन्। त्यहाँसम्म उठ्यो भनेर फरक कुरा । तर, कर्णालीमा एमाले एक छ। एक भएर अगाडि बढ्छ।’ नयाँ वर्ष बैशाख तीन गतेपछि कर्णालीमा नयाँ सरकार गठन हुने सांसद थापाको भनाई छ।
प्रदेशसभाको सातौं हिउँदे अधिवेशन वैशाख ३ गते सुरु हुँदैछ। ४० सांसद रहेको प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका छन्। माओवादी केन्द्रबाट सांसद बनेका रेग्मी पदमुक्त भएसँगै कर्णाली प्रदेशसभामा एमालेको एकल बहुमत छ।
सत्ताको बागडोर सम्हालिरहेको माओवादी केन्द्रसँग १२ जना सांसद छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद छन्। माओवादी केन्द्रले आफू नेतृत्वको सरकार टिकाउनका लागि एमालेको माधव नेपाल समूह, नेपाली कांग्रेस र राप्रपासँग नियमित छलफलमा गरिरहेको छ।
गत चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले ५ चैतदेखि लागु हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी एमालेका तीनजना मन्त्रीले २४ गते राजीनामा समेत दिएका थिए।