अमेरिकी प्रहरीबाट अश्वेत युवक मारिएपछि तनाव



काठमाडौँ। अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ। तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो।

घटनाको विरोधमा स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै आएका छन्। स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पल शहरका मेयरहरुले आपतकाल घोषणा गर्दै रातिको समयमा कर्फ्यु जारी गरेका छन्।

स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन रोकिएको छैन। यसअघि प्रहरीबाट अश्वेत नागरिक जर्ज फ्लोयड मारिँदा अमेरिकाभर तनाव सिर्जना भएको थियो।