काठमाडौँ। आज बडो असमन्जसमा म बोल्न उठेको छु । बोलूँ कठिन, नबोलूँ झन् कठिनको अवस्था छ।
विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो, र अब संसदको पुनर्स्थापनापछि के कस्ता कठिनाइ छन् संसदभित्र र संसदबाहिर समेत आइरहेको छ । त्यसमा हामी सबै विज्ञ छौँ । सभामुखको आफ्नै पीडा होला।
व्यवस्था एउटा कुरो हुन्छ, व्यक्ति अर्को कुरा हुन्छ । व्यवस्थागत त्रुटीलाई व्यक्तिले आफ्ना क्षमताका साथ, त्यागका साथ परिस्कार र परिमार्जन गर्दै लैजान सक्छ । कुनै पनि मुलुकमा लेखिएको संविधान परिवर्तन र संशोधन नै नभइ कहिल्यै पनि चिरञ्जिवी भएको छैन । जुन संविधानले आफूलाई अपरिवर्तनीय स्वीकार गर्यो, त्यसको अन्त्य भएको छ । त्यसको उदाहरण नेपालमा पनि छ । अपरिवर्तनीय केही पनि कुरा हुँदैन । त्यस्तो परिवर्तन गर्नुपर्ने, परिस्कार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने कुरालाई बिर्सिएर एकैपटक ड्याङ्ग संसद भंग भन्ने कदम हामीले देख्यौँ । त्यसपछि संसद पुनर्स्थापना पनि भयो । र, पुनर्स्थापना गर्ने निकायलाई, त्यसका लागि सडकमा आउनुभएका जनतालाई, त्यसका लागि भूमिका निर्वाह गर्ने राजनीतिक नेताहरुलाई, उहाँहरुलाई म धन्यवाद र बधाई दिन चाहन्छु । अगाडि के त रु अगाडिको कठिनाइको व्याख्यामा म जान चाहन्नँ ।
एउटा कुरा म सम्झन्छु, केही महिनाअघि मैले यहाँ एक पटक सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इङ्ल्याण्ड इतिहासबाट पैँचो लिएर ‘इनफ इज इनफ, प्रधानमन्त्री महोदय १ इनफ इज इनफ’ भनेको थिएँ । त्यहाँ विद्रोही नेता चर्चिलले उनकै पार्टीका नेतालाई चेतावनी दिए । चेतावनी दिइसकेपछि तत्काल त च्याम्बर्लिनलाई राजीनामा दिएनन् । तर त्यही प्रसिद्ध ऐतिहासिक लर्ड एम्बेरले प्रस्ताव र चर्चिलले समर्थन गरेको प्रस्तावको आधारमा अन्ततः च्याम्बर्लिनको राजीनामा भयो । तर, त्यो सुखद राजीनामा भयो । बेलायतले अर्को नेता पायो ।
मेरो त्यसबेलाको ‘इनफ इज इनफ’ को बडो चोटिलो, गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको थियो । उत्तर दिन मामिलामा नेपालमा मात्रै होइन मेरो विचारमा एसियामा हारे मोदीसँग हार्नुहुन्छ, अरूसँग त हार्नुहुन्न उहाँ । यस अवस्थामा अहिले सबैभन्दा ठूलो प्रश्न एकछिन अघि शुन्य समयका वक्ताले भन्नुभयो–त्या चुच्चे नक्सा कता हरायो रु त्यो चुच्चे नक्साको भ्रूण हत्या भएको हो रु बालहत्या भएको हो रु या एउटा राजनीति हो रु राष्ट्रिय राजनीति एउटा सानो मोहोरा मात्र थियो रु सतरन्ज खेलको एउटा प्यादा मात्र थियो रु
‘इनफ इज इनफ’ भन्दा भ्रष्टाचारको कुरा थिए । राज्यशक्तिको अनुपस्थितिको कुरा थियो । एकपछि अर्को बलात्कार भइरहेका घटनाको कुरा थियो । अहिले आइकन त संसद विघटन र पुनर्स्थापना त यो भन्दा पनि धेरै गम्भीर कुरा उठाएका छन् । भ्रष्टाचार मात्र भएको छ भनेर पुग्ने भएको छैन, विकासको गतिमा जुन स्थिरता र जडता भएको छ त्यो मात्र सम्झाएर भएको छैन । हामी त राष्ट्र कै नियतिका किनारामा उभिएका जस्ता छौँ ।
म एउटा सानो घटनाबाट सकारात्मक ढंगले प्रधानमन्त्रीका, पार्टी सभापतिहरूका, राष्ट्रपतिका, सभामुखका सबैका भूमिकालाई संकेत गर्न चाहन्छु । २०४७ सालमा हामीले संविधान बनायौँ । हाम्रो नेपाली काँग्रेस भनौँ या हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान बनायौं । हामी उहाँका धेरै शिष्य हामी यही बेन्चमा बसिरहेका छौं । संविधान बनाएपछि उहाँले घोषणा गर्नुभयो–यस्तो सुन्दर संविधान विश्वमा कहीँ छैन । हामीले पनि पत्याएकै हो । ताली र थपडी बजायौँ । हो छैन हाम्रो सन्तले भनेको । विद्वान नेताले भनेको । संसदीय व्यवस्थाका सबभन्दा जानकार महानुभावले भनेको पनि पत्यायौँ । तर संविधानको परिणति के भयो रु तपाईँलाई थाहा छ । त्यसको परिणति गर्न गराउन, जोगाउन, जोगाउन नसक्नुमा, यसलाई सिध्याउन उद्धत हुनुमा हामी सबै संलग्न थियौँ । म कुनै विरोधी पक्षलाई मात्र जिम्मेवार ठहर्याउँदिन ।
२०७२ को संविधान त त्यस किसिमको सुखद स्वागतका साथ पनि बनेको छैन । याद राख्नुहोला ठूलो विवादका बीच, विभाजनका बीच, एकातिर दीपावली हुँदै थियो भने अर्कोतिर कालोरात्रि ९ब्लाक डे० मनाउँदै हुनुहुन्थ्यो । स्पष्ट छ, नेपाली काँग्रेसले प्रजातन्त्रका माध्यमबाट, अन्य माध्यमबाट दलित, महिला, जनजाति मधेसी, पछि हामीले कर्णाली थप्यौँ । यस संविधानसँग, दलित असन्तुष्ट, जनजाति घोर असन्तुष्ट, मधेस त विद्रोहका लागि लिएका थिए । यस संविधानलाई हामीले सम्हाल्ने कि नसम्हाल्ने रु यसलाई हामीले मलजल गर्ने कि नगर्ने रु मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर जरो लागेको छ कि छैन भनेर हेर्ने रु विरुवा लगाउनेले विरुवालाई केही समय धैर्यपूर्वक जलमल गर्नुको साटो विरुवा उखेलेर त्यसको जरा हेर्ने प्रवृत्ति हामीले विगत महिनाहरुमा देख्यौँ । अब जरा हेर्न नखोज्नेले नयाँ दायित्व लिनुपरेको छ । यो संविधानको रक्षा हामी गर्छौं कि गर्दैनौँ रु रक्षा हामी यही रुपमा गर्न सक्छौं कि यथोचित परिमार्जनका साथ गर्छौँ रु त्यो परिमार्जन टालटुले हुन्छ या मुलुकको सबै जाति, जनजाति, पहिचान चित्त बुझाउनु हुन्छ रु यो काम कसैले गर्न सक्दैन । चाहेर पनि प्रधानमन्त्रीले गर्न सक्नुहुन्न, प्रतिपक्षका नेता र दलले पनि सक्नुहुन्न । संविधानको पहिलो परिभाषा के हो भने संविधान मूलतः सहमतिको दस्तावेज हो । यो मेरा शब्द होइनन्, विश्वका इतिहासमा सबैभन्दा लोकप्रिय रहेको, सबैभन्दा चिरञ्जिवी रहेको अमेरिकन संविधान, सबैभन्दा सानो र चुस्त रहेको सो संविधानमा त्यस संविधानका मस्यौदाकारले लेखे, ‘मेरो चित्त नबुझेका कुरा धेरै छन्, तर मेरा कुरा वर्षेनी बदलिरहेका छन् । कुनै समय राजतन्त्रको सपोर्टर थिएँ । आज विरोधमा छु । कुनै दिन मेरो पनि विचार बदलिएला । आजको सहमतिको आधारमा कुरा गर्छु । राज्य र अधिकारको कुरा गर्छु । राष्ट्रपतिको सापेक्ष अधिकारको कुरामा, यस संविधानमा लेखिएको कुरामा म सहमत छैन’ भनेर संविधानका प्रमुख मस्यौदाकार बेन्जामिन फ्यांकलिन बोलेपछि उनको प्रान्तले सही गर्न मानेको थियो ।
आज सबैभन्दा पहिले यस सदनको माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्छु । बाहिर सब कुरा आइरहेका छन् । को प्रधानमन्त्री बन्ने भन्ने कुरामा, प्रधानमन्त्री मानौँ सडकमा फ्याँकिएको छ । शेरबहादुरजी, महन्थ ठाकुरदेखि प्रचण्डसम्म । वर्तमान प्रधानमन्त्री त चिरञ्जिवी प्रधानमन्त्री भइहाल्नु भयो । प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन । पहिलो प्रश्न जवाफ दिनुस् यो संविधानलाई बचाएर यसैमा हामी टेकेर अगाडि बढ्ने हो अथवा यसलाई २०४७ सालको जस्तै बिजोग गर्ने हो रु अथवा चच्चे नक्साको जस्तै बिजोग बनाउने हो रु दोस्रो कुरा, अब हामीले संविधान लेख्दा कसरी लेख्छौँ रु चुनावको कुरा आएको छ, यसमा कुनै शंका छैन कि चुनाव लोकतन्त्रको अत्यन्तै सार्थक र विश्वस्त कसौटी हो । चुनावमा त जाने तर कसरी जाने रु सबै मिलेर जाऔं यसै सरकारको नेतृत्वमा चुनावमा जान हामी सबै तयार हुन्छौं कि रु कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि रु याद राख्नुस् चुनावमा पनि सहमतिमा जाने कुरा हो ।
स्वयम् सभामुखलगायत अनेकन क्रान्तिकारी संलग्न भएको बेलामा २०४७ सालको संविधान हामी मान्दैनौँ भनेर मुख्यगरी यत्तिले मात्रै भनेका थिए । ती व्यक्ति मुस्किलले १२ वा १३ जना कति थिए । मलाई थाहा छ पूर्व सभामुख महरा पनि त्यतिबेला हाउसमा आउनुभएको थियो । त्यही सानो समूहले तत्कालीन संविधानलाई नमानेको हँदा ०४७ सालको विनाशको विजारोपण त्यहीँ भएको थियो । त्यस्तो समय आज पनि आएको छ । त्यसैले म सभामुखको माध्यमबाट के भन्न चाहन्छु भने कसैलाई विष वमन गर्न चाहन्नँ, कसैको प्रताडना गर्न चाहन्न, प्रधानमन्त्रीको प्रताडना भित्रबाट बाहिरबाट सबैतिरबाट गरिसकेका छौँ । एक पटक म उहाँलाई के भन्छु भने आफूभन्दा, आफ्नो अहम्भन्दा माथि उठेर, हिजो त उहाँले प्रतिपक्षको नेता समेतलाई आफ्नो इरादामा बगाउनु भएको थिएन, सभामुखसमेतलाई विश्वासमा लिनु भएको थिएन । संकट एक दिनमा आएको होइन, क्रमशः आएका छन् । र, म विनम्रतापूर्वक भन्न चाहन्छु मुख्यतः प्रधानमन्त्रीको कारणले आएको छ । अब अप्ठेरो समय आएको छ, प्रधानमन्त्रीलाई तिमीले छोड मात्रै भनेर पुग्नेवाला छैन, समाधान पनि दिनुपरेको छ । यसमा मधेसवादी पार्टीलाई, काँग्रेसलाई स्वयम् कम्युनिस्टलाई पनि फरक परेको छ । दिनप्रतिदिनको विवाद, दिनप्रतिदिनका भ्रष्टाचारको कथा, हाम्रो संसदको भनाभन र जुहारीबाट हल हुँदैन । हामी जुहारीमा व्यस्त छौँ । त्यसैले भावुक भएर म यस उमेरको मोडमा भन्न चाहन्छु, हामी यसका लागि जम्मा भएका होइनौँ । आज मुलुकलाई यो अवस्थामा पुर्याउनका लागि म दुखी छु । यो संसदमा हामी सबै दोषी छौं । अब हामी अर्को बाटो जान चाहन्छौँ भने को जिम्मेवार छ त रु जिम्मेवार खोजिन्छ । कोही भन्छन्, चीनले यस्तो गर्यो कोही भारतले यस्तो गर्यो भन्छन् त कोही युरोपियनले यसो गर्यो । अहँ, हामी त्यसमा सहभागी नहुन्जेल कसैले केही गर्न सक्दैन । त्यसैले हामीले आफैलाई चिह्याऔँ र यस संकटको घडीमा सबै एक भएर कसरी राष्ट्रिय सहमति गर्न सक्छौं, चुनावै अघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार समेत बनाउन तयार होऔं । होइन भने जुन भावनामा हामीले प्रधानमन्त्रीको चुनाव गराउने एकाधिकारलाई अस्तिको संविधानमा निरस्त्र गरेका थियौँ त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ । म मेरै गोरुको बाह्रै टक्का गर्ने पक्षमा छैन । मैले नै भनेको मान्न पर्छ भन्ने पक्षमा छैन ।
यो देशका सबैभन्दा बलवान मानिस मैले भनेको सबै कुरा ठीक छ भनेर भन्दै हुनुहुन्छ । यो भन्दा हामी मै देश, मै पार्टी भन्ने अवस्थामा पुग्छौँ । म प्रधानमन्त्रीलाई भन्छु आजको राष्ट्रिय नियतिलाई आफ्नो तजबिजको कुरा नमानी, संसदमा उपस्थित प्रत्येक पार्टी, नागरिक समाजले उठाएका एकपछि अर्को ज्वलन्त सवालहरुलाई सम्बोधन गरिकन नयाँ उचाइ प्राप्त गर्नुस् । नेपालमा ओलीले साँच्नै नै नयाँ युगको प्रबर्द्धन गरे भन्ने होस् । जालझेल गरेर शकुनीले पासा फ्याँकेजस्तो दोबारा पासा फ्याँकेर फेरि पाण्डवलाई बनबास पठाएजस्तो फेरि संसद विघटन गर्ने दिशामा नगइदिनुस्, यति प्रार्थना गर्न चाहन्छौँ ।
(प्रतिनिधिसभा बैठकमा प्रदीप गिरीले गरेको सम्बोधनको सम्पादित अंश)