ओलीले प्रचण्डलाई भने, ‘राजीनामा नमाग, समर्थन फिर्ता लैजाउ’



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन्।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए।

उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउने” चेतावनी दिए। उनले भने, “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने। बघिनीले तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।”

उनले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले भैसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे। उनले भने, “प्यादाले मन्त्री खान्छ चेसमा। भुसुनाले लामखुट्टेले हात्ती खान्छ। उपियाँले मान्छे खान्छ । कति खान्छ? तिनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो। उपियाँले मान्छे खाए जस्तो। किर्नाले भैसी खाँदैन। किर्नाले भैसी खान्छ नि। किर्नाले भैसी खाएको देख्नुभएको छ कि छैन । यिनीहरुले गरेको हामीलाई कारवाही त्यस्तै हो। किर्नाले भैसी खाए जस्तै। किर्नाले भैसी खाने? मनको यिनको रहर हो। तर किर्ना किर्नाकै ठाउँमा हुन्छ। भैसी भैसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाईन्छ किर्नाले भैसी खाएकै हो। भैसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झ्रयो। मजाले भैसी खायो, पुटुक्क भयो, फुत्रुक्क झर्यो। कति रोएका?’

प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिन चुनौति दिए । राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ । समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ। लैजाऊ। चाहिएको छैन तिम्रो समर्थन। लैजाऊ,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे ।
उनले भने “काँग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाडेई छ त । माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ?”

प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधव नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान गरे । उनले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए ।

उनले भने, “म उहाँहरुलाई अहिले पनि भन्न चाहन्छु । पार्टीबाट उहाँहरुले यति उपद्रो गर्दा पनि निष्कासन गरिएको छैन । आत्मालोचना गरेर फर्केर आउनुहोस् । आफ्नै पार्टी हो । आउनुहोस् तपाईहरुलाई आफ्नै पार्टीको रुपमा व्यवहार गरिन्छ । आउनुहोस् । गल्ती महसुस गरेर आउनुहोस् । गल्ती महसुस गरेर आएर काम गर्न बिनाभेदभाव दिइन्छ । तर गुटबन्दी चल्दैन । गुटबन्दी हुँदैन । समूहगत रुपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन ।

पार्टीबाट फुटेको एउटा चोइटोलाई पार्टीको मान्यता कहिले पनि नदिने उनले बताए । प्रधानमन्त्री ओलीले भने, व्यक्तिगत तबरमा माधव नेपालजी आएर पार्टीमा काम गर्छु भन्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गर्नुहोस् । ”