सुर्खेत। कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्ने कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्। यसअघि कात्तिक ९ गते प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको थियो।
पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ। एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि ३ गते बस्ने बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
मुख्यमन्त्री शाहीले उक्त बैठकबाट राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने बारेमा धेरैको ध्यान केन्द्रित छ। तर, मुख्यमन्त्री शाहीले राजीनामा नभई विश्वासको मत लिने माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीको दाबी छ। मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्न, अन्य दलहरुसँग छलफल भइरहेको छ। संसदबाटै विश्वासको मत लिनुहुन्छ,’ प्रमुख सचेतक नेपालीले भनिन्।
सर्वोच्चको फैसलापछि नेकपा एकता भंग भई एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कर्णालीमा रहेको माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको हो। चैत ४ गते बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। वैशाख ३ गते नै सरकारलाई दिइएको समर्थन फिर्ता लिएको ३० दिन पुग्छ। नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया शुुरु हुने संकेत देखिएको एमालेका सांसद सुशील थापाले बताए। ‘नयाँ वर्षमा नयाँ सरकार बन्ने छ, वैशाख ३ गते साँझबाट नयाँ सरकारको प्रक्रिया शुरु हुन्छ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेकपा एमालेमा फरक विचार समूह बनाएर अगाडि बढेको माधव नेपाल समूहको आड लिन खोजेका मुख्यमन्त्री शाहीले पछिल्लो समय त्यो पनि गुमाएका छन्। चैत २४ गते यो समूहमा रहेका तीनजना मन्त्रीले पनि राजीनामा दिइसकेका छन्।