एक वर्षदेखि सडकका मानिसलाई खाना खुवाउदै प्रदिप



काठमाडौँ। सन् २०१९ को अन्त्यतिर चाइनाको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस (कोभिड-१९) ले विश्वका मानिसहरुलाई त्राहिमाम बनायो।

विश्वमा २९ लाखभन्दा बढि मान्छेको ज्यान लिएको कोरोनाले १३ करोडभन्दा धेरै मानिसलाई प्रभावित बनाएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। गत वर्ष चैतको ११ गते नेपाल सरकारले लकडाउन गरेर कोरोनाबाट बच्ने प्रयास गरेको थियो।

सरकार र गैरसरकारी तवरको प्रयास हुँदाहुँदा पनि नेपालमा कोरोनाबाट तीन हजारभन्दा धेरै मानिसहरुले ज्यान गुमाउनु पर्यो। दुई लाखभन्दा धेरै मानिसहरु प्रत्यक्ष प्रभावित बन्नुपर्यो। यस दौडानमा लाखौ मानिसहरुले खान लाउने समस्याहरुबाट पीडित बन्नु पर्यो।

यसरी महामारीबाट प्रभावित बनेकाहरुलाई सेवाहरु गर्ने हातहरु भने सक्रिय रहे। गक्षअनुसार र अरुसँग मागेर भएपनि समाजलाई परेको बेला साथ सहयोग गर्ने मध्यक्षका एक युवा हुन् प्रदिप घिमिरे (अमूल्य) । रामेछापको मन्थली नपामा वडा नम्बर ४ स्थायी घर भएका ३२ वर्षीय घिमिरे हाल काठमाडौँ महानगरपालिका वत्तिसपुतलीमा बस्छन्। उनले गत वर्ष चैत १६ गतेदेखि ड्राईफुड र २९ गतेदेखि सडकमा रहेका, मजदुर र दिन दु:खीहरुलाई ताताे खाना खुवाउँदै आएका छन्।

घिमिरेले सडकका मानिसहरुलाई खाना बनाएर खुवाउन थालेको आइतबार ठिक एक वर्ष पुग्याे। विगत १८ वर्षदेखि सामाजिक सेवामा सक्रिय घिमिरे विभिन्न व्यक्ति तथा संस्थाकाे सहयोगमा दुःखी पीडितहरुको असहजतामा साथ दिने थोरै युवा मध्येका एक हुन्।

एक वर्षको अवधिमा घिमिरेको टिमले पाँच सय जनालाई राहतका रुपमा खाद्यान्नसहित केही नगदसमेत प्रदान गरेको कर्णाली सन्देशलाई जानकारी दिएका छन्। एकल महिला, गर्भवती, दृष्टिविहीन, सडक पेटीमा रहेक मानिस र खासगरी समस्यामा परेका मानिसहरुलाई सयोग गरेका छन्।