काठमाडौँ। नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्।
शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो। अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन्।
महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन्। उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन्। समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन्।
महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन्। यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन्। महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन्।
आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन्। सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन्। उनीहरु सबै पोख्रेल प्यानलका हुन्। यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन्। सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन्।