काठमाडौँ। एमाले र माओवादी केन्द्रबीचको एकता स्वार्थसिद्धिका लागि थियो भन्नेहरु धेरै भेटिन्छन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोडबलले बनेको नेकपा मुस्किलले तीन वर्ष टिक्यो। तर, त्यस एकताले देशलाई फाइदा गर्न सकेन। केपी ओली जस्तो स्वेच्छाचारी शासकलाई सत्तामा पुर्यायो।
आजका दिनमा पनि ओली मौनमौजि रुपमा अघि बढिरहेका छन्। नेकपा हुँदा होस् या आज एमालेमा फर्किदा। उनको स्वेच्छाचारीताको गति मन्द भएको छैन। ओलीका आसेपासे र सल्लाहकारहरुको आचरण पनि ठिक ओलीसँग मिल्छ। मुखले जबज भनेपनि ओली पक्षधरका नेता कार्यकर्ताहरु बहुलतालाई निस्तेज गर्छन्। आफ्ना विरुद्धमा प्रश्न गर्नेहरुलाई भित्तामा पुर्याउने कसरतमा लागि परेका देखिन्छन्।
फरक मत राख्नेहरुलाई पार्टीबाट निष्काषित गरेको देखिन्छ। यहि कारण पनि एमालेको विभाजन निश्चित प्राय:छ। ओली आफ्नो आलोचनाकाे के कुरा? आफूमाथि गरिने प्रश्नहरु पनि सुन्न चाहँदैनन्। प्रश्न गर्नेहरूलाई ठेगान लगाउने उनको प्रयत्न रहन्छ। ओलीको कारबाहीमा परेका एमाले उप-महासचिव घनश्याम भुसालको टिप्पणी छ, ‘मलाई त ओलीजीले माओवादीसँग एकीकरण गर्नुभन्दा अगाडि नै तत्कालीन एमालेबाटै निकाल्न चाहनुहुन्थ्यो। त्यसको एउटै कारण थियो, मैले प्रश्न गर्न छाडिनँ।’
कतिपयका भनाइमा ‘ओली आफू व्यक्तिका रूपमा मात्र स्थापित हुन चाहन्छन्, उनी हिँड्न खोजेको बाटो मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तविपरीत छ।’
आफूलाई ‘जबज’ पक्षधर देखाउने प्रयत्न गरे पनि मदन भण्डारीको बाटोमा हिँड्न कठिन हुने संकेत ओलीले आफ्नो व्यवहारबाटै देखाइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, एमालेको पार्टी कार्यालय। मदननगर, बल्खुमा रहेको एमाले मुख्यालय २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनलाई पार्टी मुकाम बनाएको थियो।
त्यसयताका ६ वर्षसम्म बल्खुको भवन निर्माणमा उनको रूचि देखिएन। बरु, धुम्बाराहीको कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सार्ने निर्णय उनले गराइसकेका छन्। एक नेता भन्छन्, ‘त्यसको कारण उहाँलाई मदननगरको नामले झस्काएको देखिन्छ।’
राजनीतिशास्त्री, प्रा. कृष्ण पोखरेल ओलीले मदन भण्डारीलाई भर्याङ मात्र बनाएको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘मदनले नै प्रतिपादन गरेको जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेपछि त्यहाँभित्र त्यही विचारका पनि बहुपक्ष, बहुसोच अटाउनुपर्यो नि? त्यो कुरालाई ओलीले पूर्णतः निस्तेज गरे, हुकुमी शैलीबाट पार्टी सञ्चालन गर्ने सोच बनाए।’
उनले अगाडि भने, ‘माधव नेपाल र झलनाथ खनालपक्ष ओलीले डाकेको संसदीय दलको बैठकमा गएरै आफ्ना कुरा राख्यो। तर, ओलीनिकटका, हिजो प्रचण्डसँग अलिकति मतभेद हुँदा एकता बचाउन भन्दै लाग्ने नेताहरू आज किन चुपचाप, निस्तेज बने? एमालेमै विभाजनको रेखा देखिँदा उनीहरूको पहलकदमी किन देखिएन? किनभने, ओलीको निरंकुश शैलीका अगाडि त्यहाँभित्र पनि पार्टी एकता चाहनेहरू आवाजविहीन भएर बसेका छन्।’
प्रा. पोखरेलले यस्तो अवस्था नेपाल-खनालको पार्टीमा भने नहुने बताए। तर, के नेपालको पार्टी हिजोको एमाले जस्तो मात्रै भएर टिक्न सक्ला ? वैचारिक आधार जबजलाई मानेर अघि बढे पनि संगठनात्मक आधार कस्तो होला? अहिलेकै एमाले पंक्तिका कस्ता नेता र कार्यकर्ताले उनलाई साथ देलान्? नेपालपक्ष स्वयम् यसमा प्रष्ट देखिएको छैन। नेपाल(खनालपक्षमै रहेका एमालेका एक नेताले नयाँ बन्ने पार्टीमा सबै कुरा पूरानै हुने तर सम्पूर्ण ऊर्जा भने ‘नयाँ हौं’ भन्नेमा खर्च हुने जोखिम रहेको बताउँछन्।
‘हामी ओलीभन्दा फरक हौं भन्नेमै सम्पूर्ण ऊर्जा सकिने भो जबकि हामी मार्क्सवाद(लेनिनवाद, त्यही जबज, त्यही संगठन लिएर अघि बढ्ने हो। नयाँ पार्टीमा नहुने भनेको ओलीको जस्तो कार्यशैली मात्र हो’, उनले भने।