राष्ट्रपतिले प्रदान गरेको पदकमा चुच्चे नक्सा खै?



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा प्रदान गरिएको पदकमा नेपालको नयाँ नक्सा समावेश नगरिएको पाइएको छ।

राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुले प्राप्त गरेको पदकमा गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा छैन। संसदले समेत अनुमोदन गरेको उक्त नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि पनि समेटिएको छ।

तर शुक्रबार वितरण भएको पदकमा नयाँ नक्सा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्सा खै’ भन्दै सरकारको आलोचना भइरहेको छ। नयाँ नक्सा किन नराखेको भन्‍ने प्रश्‍नमा गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा पोहोर सालकै पदक भएको बताउछन्। उनी कोरोनाका कारण दिन नपाइएको र पदक पहिल्‍यै छापिएर आइसकेकाले फेर्न नमिलेको स्वीकार गर्छन।

उनका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्सासहितको पदक प्रदान गरिने बताए। उनले भने, ‘आज बाँडिएको पदक पहिल्‍यै छापिएको हो । बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ।’