ओलीले लात हानेपछि प्रचण्डलाई ठीक भएको छ: देउवा



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नुहोस् भन्दा पनि नबनेका कारण आजको दिन आएको तर्क गरेका छन्।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा बोल्दै सभापति देउवाले कांग्रेससँग संसदको एक चौथाई संख्या नभएका कारण सरकार गठनमा समस्या भएको स्वीकार गरे।

उनले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो। तर जनताले हामीलाई भोट दिएनन्, तपाई (रामचन्द्र पौडेल) पनि हार्नु भएको हो।’

आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको देउवाको भनाई छ। देउवाले अघि भने, ‘बल्ल थाहा पाए प्रचण्डले। उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको। खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ।’

अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए। आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन। कसैलाई बनाएर हुन्छ भने म तयार छु।’