सत्ता समिकरण: देउवाले बोलाएको बैठकले निकास देला ?



काठमाडौँ। सत्ता समिकरणको पहल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजे तीन दलिय बैठकको आह्वान गरेका छन्।

उक्त बैठकलाई निक्कै महत्वकासाथ हेरिएको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संसद भंग गरिएपछि नेपाली राजनीतिक अवस्था तरल बनेको हो। फागुन ११ गते अदालतले संसद विघटनलाई खारेज गरेको थियो।

फागुनकै २३ गते एमाले र माओवादी केन्द्रलाई अदालतले पूर्ववत अवस्थामा फर्काई दिएपछि थप अस्थिर बनेको राजनीतिलाई निकास दिन कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ।

बैठकमा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) पार्टीका शीर्ष नेताहरुसँग छलफलमा भाग लिने बुझिएको छ। यति चैत २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा देउवाले शुक्रबारको बैठक बोलाएका हुन्।

शुक्रबारको बैठकमा देउवा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्बन्धमा पार्टीले लिएको निर्णय औपचारिक रुपमा जानकारी गराई माओवादी केन्द्र र जसपाको औपचारिक धारणा माग्ने तयारीमा छन्।

जसपा एकताबद्ध भएर कांग्रेसलाई समर्थन गर्ने निर्णय नगरेसम्म वैकल्पिक सरकार बन्नसक्ने अवस्था छैन। कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका नेता महन्थ ठाकुरसँग एकसरो कुराकानी गरे पनि त्यसपछि वार्ता अगाडि बढ्न सकेको थिएन।

पौडेलले देउवा आफैंले जसपाका नेताहरुसँग कुराकानी गरेमा सरकार निर्माणमा सहमति जुट्ने बताएका थिए। कांग्रेसको निर्णयपछि माओवादी केन्द्र र जसपा देउवाको पहलको पक्षमा थिए।

निर्णायक शक्ति जसपाले अझै पनि सरकार गठनका सम्बन्धमा निर्णय नलिइसकेका कारण तत्कालै नयाँ समीकरण बन्ने सम्भावना भने कम छ। किनभने नयाँ सरकार गठनका विषयमा जसपामा स्पष्ट दुई धार देखिएको छ। डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको तत्कालै विकल्प खोज्नुपर्ने पक्षमा छ। महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निरन्तर सम्वादमा छन्।