सत्ता समिकरण: देउवाले बोलाए तीन दलको बैठक



काठमाडौँ। नयाँ सरकार गठनका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन्।

देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपाको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

भानुका अनुसार माओवादी र जसपासँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ। गत हप्ताको शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो।

त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन्। एमाले बाहेकको​ सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ।