माओवादी परित्याग गरेका चार मन्त्रीको सांसद पद खोसियो



काठमाडौँ। नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना वहावाला मन्त्री सांसद पदबाट पदमुक्त भएका छन्।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका छन्।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन्। चारैजना सांसद मन्त्री छन्। प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ।