महासंघ निर्वाचन: कर्णालीमा पनि विपुल प्यानल अगाडि



सुर्खेत। नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा विपुल पोखरेलको टिमले अग्रता लिएको छ।

कर्णाली प्रदेश अन्तरगत जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन्। बुधबार भएको मतदानमा ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएको हुन्।

उनका प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघका दिप बहादुर घर्तीले २२ प्राप्त गरेका थिए। यस्तै उपाध्यक्ष ‘महिला’मा गठबन्धनकी टुकमाया घर्ती ६६ मत सहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघकी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन्।

सचिवमा गठबन्धनका भरत शर्मा ५५ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका बिनोद घर्तीले २४ मत पाए। यस्तै कोषाध्यक्षमा गठबन्धनकै युद्ध जित शर्मा ६५ प्राप्त गरी निर्वाचित भएका छन् भने क्रान्तिकारी पत्रकार संघका तिर्थ बोहराले १० मत पाए।

सहसचिवमा गठबन्धनका पवन शर्मा ६६ मतसहित बिजय हुँदा प्रेस चौतारी नेपालका जनक चन्दले २१ प्राप्त गरे। सदस्य ‘दलित’मा गठबन्धनकै काली बहादुर नेपाली ६६ मत ल्याएर बिजय भएका छन्। क्रान्तिकारी पत्रकार संघका धन बहादुर नेपालीले ९ मत पाएका थिए। निर्विरोध निर्वाचित उपाध्यक्ष, सहदेव बस्नेत, निर्विरोध सहसचिवमा सपना वली, निर्विरोध निर्वाचित खुल्ला सदस्य, बद्री पन्त, नवराज शाही, रेशम बहादुर खड्का, अर्पण रावल, सन्देश आचार्य, जनक सिंह रहेका छन्।

त्यस्तै नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा प्रेस चौतारी ‘माधव नेपाल समूह’का यज्ञराज थापा विजयी भएका छन्। थापा स्वर्गीय पत्रकार डेकेन्द्र थापाका भाइ हुन्।

थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा ‘पुस्कर’ले ३२ मतमात्रै ल्याए। यस्तै खुला उपाध्यक्षमा प्रेस युनियनका महेन्द्र सापकोटाले ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चौतारीका कमल शर्माले ३७ मत ल्याए। महिला उपाध्यक्षमा भने ओली निकट चौतारीकी बालकुमारी बुढा ४६ मतका साथ विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी रजनीकुमारी योगीले ४१ मत ल्याइन्।

सचिवमा युनियनका भक्तबहादुर शाही, खुला सहसचिवमा पनि युनियनकै खेमराज वली, समावेशी सहसचिवमा माधव समूहको चौतारीका पृथ वयलकोटी र कोषाध्यक्षमा प्रेस संगठनका तीर्थबहादुर भण्डारी विजयी भएका छन्। अन्य सदस्यहरुमा पनि माधव समूहको चौतारी, युनियन र प्रेस संगठनका उम्मेदवार विजयी भएका छन्।