पत्रकार महासंघकाे नयाँ नेतृत्वका लागि मतदान सम्पन्न



काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि उपत्यका सहित देशभर मतदान सम्पन्न भएकाे छ।

नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति तथा केन्द्रीय समितिको निर्वाचन एकसाथ सम्पन्न भएको हाे। महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि जम्मा १३ हजार १२२ सदस्यले एकसाथ मतदान गरेका छन्।

मतदान सकिएलगत्तै मतगणना शुरु गरिने छ। केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेका अनुसार कुनै बाधा नभए चैत २६ गते सबै तहको मत परिणाम आउने छ। निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए। महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी हुन्।

महासङ्घले आफ्नो सङ्गठनलाई संघीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ। देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैर भौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति छन्।

महासंघको केन्द्रीय समिति ४९ सदस्यीय छ भने प्रदेश समिति २१ सदस्यीय रहने प्रावधान छ। जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ। नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो।