आगो लागेको भवनमा चढेर दम्पती र शिशुको नाटकीय उद्धार



काठमाडौँ। फ्रान्सेली सहर नोँतस्थित एउटा आवासीय भवनमा आगो लागेपछि त्यहाँबाट एउटा परिवारलाई उद्धार गर्ने युवकहरूको एउटा समूहको प्रशंसा भएको छ।

नाटकीय भिडिओ फुटेजमा उनीहरूले तेस्रो तलामा अपार्टमेन्टबाट एक दम्पतीलाई बाहिर निस्किन सहयोग गरिरहेको देख्न सकिन्छ। उक्त भवनको छेउमा डसनाहरू राखेर ती दम्पतीको छ महिनाकी छोरीलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि तेस्रो तलाबाट फ्याँकिएको भिडिओमा देखिन्छ।

गम्भीर अवस्थामा रहेकी ती शिशुलाई त्यसपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्थामा सुधार भइरहेको बताइएको छ।

उद्धार कार्यमा संलग्न एक जना युवक ताहमिदले एउटा फ्रान्सेली वेबसाइटसँग कुरा गर्दै भवनबाट धूवाँको मुस्लो निस्किन थालेपछि शिशुलाई बार्दलीबाट तल फ्याँक्ने निर्णय एक मात्र उपाय रहेको बताएका छन्। अरू तलमा पनि सल्किएको आगोबाट अग्निनियन्त्रकहरूले कैयौँको उद्धार गरेको थिए।

युवाहरूको एउटा संस्थाकी नेत्री केन्जा जेकरले ले बीबीसीसँग कुरा गर्दै अन्य स्थानीयवासीहरूले अग्निनियन्त्रकहरूलाई कुरिरहेका बेला आफूहरू उद्धारका लागि अघि सरेको बताइन्। तेस्रो तलामा रहेका दम्पतीलाई तल झार्नका लागि भवनको बाह्य भागबाट चढ्ने युवकहरूमा आफ्ना पति पनि रहेको उनले जानकारी दिइन्।

उनको संस्थाले उद्धार कार्यमा खटिएका अन्य तीन जनालाई आधिकारिक कागजपत्र र आवासको सुविधा उपलब्ध गराउन आग्रह गरेको छ। ती तीनै युवक आप्रवासी रहेको बताइएको छ।

फ्रान्सका राष्ट्रपति माक्रोँलाई सम्बोधन गरिएको एउटा अनलाइन याचिका पनि सुरु गरिएको छ जसमा नायकहरूलाई सम्मान गर्न आग्रह गरिएको छ।

यो घटनाले सन् २०१८मा प्यारिस चौथो तलामा रहेको बरन्डामा झुन्डिइरहेका एक बालकको उद्धार गर्नका लागि भवनमा चढेका एक आप्रवासीको कथालाई सम्झाएको छ।

व्यापक प्रशंसा गरिएका मामोउडोउ गास्सामालाई पछि फ्रान्सेली नागरिक बनाइएको थियो। साहसिक कार्यका लागि उनलाई राष्ट्रपतिले पदक पनि दिएका थिए।