एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ। सोमबार राष्ट्रपति पुटिनले एउटा कानुनलाई अन्तिम अनुमति दिएसँगै उनको कार्यकाल सन् २०३६ सम्म लम्बिने बाटो खुलेको हो।
सो कानुनले पुटिनलाई राष्ट्रपति पदमा अरु दुई कार्यकालका लागि रहन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। रुसमा राष्ट्रपतिको एक कार्यकाल ६ वर्षको हुनेछ।
सोमबार सो कानुन पारित गरिएसँगै पुटिनको राष्ट्रपतिको कार्यकाल १२ वर्ष थपिने भएको हो। पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदै थियो। स्मरणरहोस्ः ६८ वर्षीय पुटिन दुई दशकभन्दा बढी समयदेखि रुसको सत्तामा रहेका छन्। रुसी सरकारको कानुनी सूचना पोर्टलमा जारी गरिएको सूचनाअनुसार पुटिनले सोमबार सो कानुनमा हस्ताक्षर गरेका छन्।
उक्त कानुनले अनुमति दिएसँगै उनी सन् २०२४ मा वर्तमान कार्यकाल पुरा भएपछि आगामी निर्वाचनमा उम्मेदवारका लागि बाटो खुलेको छ। गत वर्ष जुलाई १ मा भएको संवैधानिक मतदानमा पनि पुटिनलाई दुई पटक राष्ट्रपति पदको उम्मेदवार हुनसक्ने अनुमति प्रदान गरिएको थियो।