काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा.मंगल रावले पदभार ग्रहण गरेका छन्।
मगलबारदेखि प्रतिष्ठानको नेतृत्व सम्हालेका डा. रावलले प्रतिष्ठानका कर्मचारीहरुले साथ दिएको खण्डमा आफूले प्रष्ठिानको विकासलाई नयाँ आयममा पुर्याएर छाड्ने लक्ष्य सुनाएका छन्।
उनले भनेका छन्, ‘यसभन्दा पहिले मलाई तपाईंहरु (प्रतिष्ठानका कर्मचारीहरु) ले जसरी साथ दिनुभयो, त्यसैगरी आगामी दिनहरुमा पनि साथ दिनुभयो भने प्रतिष्ठानलाई मुलुककै नमूना अस्पतालको रुपमा विकास गर्ने मेरो लक्ष्य छ।’
यसअघि प्रतिष्ठानका निर्देशकसमेत रहेर उच्च क्षमता प्रदर्शन गरेका डा.रावललाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले गत आइतबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो। सिफारिस समितिले डा.रावलसँगै प्रा.डा.रेशम राना र डा.पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो। प्रतिष्ठानको इतिहासमा पहिलो पटक कर्णालीकै उपकुलपति पाएको छ। रावल कर्णालीको विकट जिल्ला हुम्लाका स्थायी बासिन्दा हुन्।