उत्तर कोरियाले टोकियो ओलम्पिकमा भाग नलिने



काठमाडौँ। उत्तर कोरियाले यो वर्ष आयोजना हुने टोकियो ओलम्पिक्समा भाग नलिने भएको छ।

आफ्ना खेलाडीहरुलाई कोभिड–१९ को संक्रमणबाट जोगाउनका लागि यस्तो निर्णय लिइएको जनाएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार गत २५ मार्चमा ओलम्पिक कमिटीको बैठक बसेर सो निर्णय लिइएको बताएको छ।

योसँगै ओलम्पिकलाई दुई देशबीच रोकिएको वार्तालाई पुनः सुचारु गर्नका लागि प्रयोग गर्ने दक्षिण कोरियाको आशामा पूर्ण विराम लागेको छ। सन् २०१८ मा दुवै पक्षले शीतकालीन ओलम्पिक्समा संयुक्त टोलीका रुपमा भाग लिएका थिए। त्यसपछि दुई देशबीच ऐतिहासिक सम्मेलनहरू भए।

प्योङयाङले हालसम्म उत्तर कोरियामा कोरोना संक्रमण नभेटिएको बताए पनि विज्ञहरुले यो असम्भव भएको बताउँदै आएका छन्। योसँगै महामारीका कारण ओलम्पिकमा भाग नलिने उत्तर कोरिया पहिलो देश भएको छ। ओलम्पिक २३ जुलाईबाट सुरु हुँदैछ।