आर्सनलमाथि लिभरपुलको गोल वर्षा



काठमाडौँ। आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदे लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ। आर्सनललाई ३–० ले हराउँदै लिभरपुल चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र २ अंकले पछि रहेको छ।

खेलमा आर्सलनमाथि पुरै दबाब बनाएको लिभरपुलले पहिलो गोलका लागि भने ६४ औँ मिनेटसम्म पर्खनु परेको थियो। डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने मोहमद शलाहले चार मिनेटपछि अग्रता दोब्बर बनाए। जोटाले ८२ औँ मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे। ३० खेलपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ४९ अंक रहेको छ भने आर्सनल ३५ अंकसहित नवौँ स्थानमा सिमित छ।

शनिबार नै भएको खेलमा चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग आफ्नै घरेलु मैदानमा २–५ गोलले स्तब्ध बन्यो। खेलको २७ औँ मिनेटमा क्रिस्टिन पुलिसिचको गोलको मद्दतले अग्रता लिएको चेल्सीले दुई मिनेट पछि दोस्रो पहेँलो कार्ड खाएका थियागो सिल्भालाई गुमायो। त्यसपछि भने वेस्ट ब्रोमले चेल्सीमाथि गोलको वर्षा गर्यो।

माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै वेस्ट ब्रोमलाई अग्रता दिलाए। क्यालम रोबिनसनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। मबाय डियाग्नेले खेलको ६८ औँ मिनेटमा गोल गर्दै स्थिति ४–१ मा पुर्याए।

मेसन माउन्टले ७१औँ मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे पनि रोबिनसनले इन्जुरी समयमा गोल गर्दै वेस्ट ब्रोमको जीत सुनिश्चित गरे। नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा यसअघि चेल्सी १४ खेलमा अपराजित रहेको थियो। ३० खेलपछि चेल्सीको ५१ अंक रहेको छ।