जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट



काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) का अनुसार जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्।

७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन। घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए। वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ।

निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।’ यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए।

त्यस्तै बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन्। आगो निभाउने क्रममा चार जना घाइते भएका छन्।

नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो। आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।