अमेरिकी संसद भवनमा हमला: एक प्रहरीको निधन



काठमाडौँ। वासिङ्टनमा अमेरिकी संसद भवनमा भएको हमलामा एक प्रहरी अधिकारीको निधन भएको छ भने एक अन्य अधिकारी घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार एक कारले सुरक्षा ब्यारिकेडमा ठक्कर दिएका थिए, तत्पश्चात् ड्राइभरले प्रहरीमाथि चक्कूमार्फत् हमला गरेका थिए। त्यसपछि प्रहरी अधिकारीले संदिग्धमाथि गोली चलाए, त्यसपछि उनको मृत्यु भयो।

हमलाकर्ताको भयो पहिचान

संदिग्ध हमलाकर्ताको पहिचान २५ वर्षीय नोआह ग्रीनको रुपमा भएको छ। अमेरिकामा बीबीसी सहयोगी सीबीएस न्यूजले हमलाकर्ताको पहिचान पुष्टि गरेको छ । अधिकारीका अनुसार उनको कुनै प्रहरी रेकर्ड छैन र उनको सेनासँग कुनै सम्बन्ध भएको पनि देखिँदैन।

यस्तै, हमलामा मारिएका प्रहरी अधिकारीको पहिचान सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा कार्यकारी क्यापिटल पुलिस प्रमुख योगानन्द पिटम्यानले यसबारे कुरा गर्दै अधिकारी विलियम बिली इभान्सको मृत्यु भएकोमा आफूलाई गहिरो दुःख भएको बताएका छन्। इभान्सले क्यापिटल पुलिस फोर्समामा पछिल्लो १८ वर्षदेखि आफ्नो सेवा दिइरहेका थिए।

आतंककारी घटना होइन

शुक्रबार पत्रकार सम्मेलनका बेला वासिङ्टन डीसीको कार्यकारी प्रहरी प्रमुखले यो हमलाको आतंकवादसँग कुनै सम्बन्ध नभएको बताएका छन्। शहरको मेट्रोपोलिटन प्रहरी विभागका कार्यकारी प्रमुखले भने, ‘यो हमला चाहे कानून स्थापित गर्ने संस्थामाथि हमला गरिएको होस् वा कुनै अन्य माथि, हाम्रो जिम्मेवारी यसबारे सबैकुरा पत्ता लगाउनु हो र हामी यो गर्नेछौं।’संसद् भवन नजिकै भारी सुरक्षाबल तैनाथ गरिएको छ।