भिटामिन डी हामीलाई किन चाहिन्छ?



काठमाडौँ। भिटामिन डीले हड्डी, दाँत र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ।

अहिले वैज्ञानिकहरूले उक्त भिटामिनले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि सुदृढ पार्न सक्ने विश्वास गर्न थालेका छन्। उक्त गुणकै कारण यो तत्त्व कोभिड–१९ सँगको सङ्घर्षमा उपयोगी हुन सक्ने ठानिएको छ।

भिटामिन डी के हो?

भिटामिन डीलाई ‘‘सनशाइन भिटामिन’’ भनिन्छ। यो पोषक तत्त्व हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा बन्छ। मानिसको ‘मेटाबलिजम’ अर्थात् उपापचयमा प्रवेश गरेपछि यसले क्याल्सीअम र फस्फेटजस्ता तत्त्वलाई ग्रहण गर्न शरीरलाई सहयोग गर्छ। यी तत्त्वहरू स्वस्थ दाँत, मांसपेशी र हड्डीका लागि अत्यावश्यक भएको अनुसन्धानले देखाएको छ।

अध्ययनहरूले गम्भीर प्रकृतिका रिकेट्स, अस्टिओमलेशीआ र अस्टिओपरोसिसजस्ता हड्डीसम्बन्धी रोगहरू गम्भीर रूपमा भिटामिन डीको अभाव हुनुको परिणाम भएको निष्कर्ष निकालेका छन्।

पोषण र हड्डीको स्वास्थ्यमा विज्ञता भएका आयरल्यान्डस्थित यूनिभर्सिटी कलेज कोर्कमा कार्यरत प्राध्यापक केभिन क्याशम्यान भिटामिन डी नहुँदा अरू समस्या पनि हुने औँल्याउँछन्। उनले भिटामिन डीको अभावले मानिसहरूलाई सङ्क्रमण बढ्ने जस्ता समस्या देखा पर्न सक्ने भन्दै यो वर्ष त्यो बढी देखा परेको उल्लेख गरे।

‘‘विगत दुई दशकमा भिटामिन डीले हाम्रो अस्थिपञ्जर प्रणालीबाहेक अन्यत्र पनि महत्त्वपूर्ण काम गर्छ भन्ने नयाँ बुझाइ देखा पर्दै गएको छ।’’ ‘‘भिटामिन डीले रोगप्रतिरोध प्रणालीलाई नियमन गर्न सघाउँछ।’’

के भिटामिन डीले कोभिड गराउने भाइरससँग लड्न सहयोग गर्छ?

प्राध्यापक क्याशम्यानले वैज्ञानिकहरूले मध्यमस्तरको भिटामिन डीको अभावले मुटु र रक्तनलीसम्बन्धी रोग, मधुमेह, निश्चित प्रकारका क्यान्सर, सङ्क्रामक रोग र कतिपय सङ्क्रामक रोगको जोखिम बढ्ने बताएका छन्।

प्राध्यापक क्याशम्यानले वैज्ञानिक अनुसन्धानहरूले भिटामिन डीको अभाव र कोभिड–१९ को स्वास्थ्यमा पर्ने प्रभावका बीच स्पष्ट अन्तर्सम्बन्ध रहेको देखाए पनि यसो सेवन गरेर लिएर सङ्क्रमण नियन्त्रण गर्न वा उपचार गर्न सकिने सुझाव दिन सकिने अवस्था नरहेको बताए।

तर वैज्ञानिकहरूले अनुसन्धान सही दिशामा अघि बढिरहेको र महामारीले भिटामिन डीको अभावसँग जोडिएका विषयलाई प्रकाशमा ल्याइदिएको उल्लेख गरेका छन्। अहिले के बुझाइ छ भने प्रमाण बलियो भइसकेको छैन तर परीक्षणहरू चलिरहेका छन् अनि नयाँ प्रमाणहरू आइरहेका छन्।

कोभिड–१९ भर्खरै एक वर्षको हुँदैछ र थप तथ्याङ्क प्राप्त गर्न केही समय लाग्छ। उनले भिटामिन डी हड्डीसँग मात्रै नभएर श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी र चिसोजस्ता अनेक समस्यासँग पनि जोडिन थालेको पनि बताए।

हामीले कहाँबाट भिटामिन डी प्राप्त गर्छौँ?

प्राध्यापक क्याशम्यानका अनुसार मूल रूपमा हामीले सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त गर्छौँ, तर प्राप्त गर्ने मात्रा छालाको क्षमता र तपाईँ वर्षको कुन समयमा पृथ्वीको कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ।

भूमध्यरेखानजिकै रहेको क्षेत्रमा सूर्यको प्रकाश बलियो हुने भएकाले त्यहाँ बढी भिटामिन डी प्राप्त हुन्छ। तर भारत र कैयौँ अफ्रिकी देशहरू भिटामिन डीको चरम अभाव भएका स्थानका रूपमा सूचीकृत छन्। दिनको चर्को घाम, पूरै शरीर ढाक्ने कपडा लगाउने प्रचलन वा धार्मिक र सांस्कृतिक कारणले त्यसो भएको हुनसक्ने प्राध्यापक क्याशम्यानको मान्यता छ।

त्यसबाहेक सहरी क्षेत्रको बसोबास र सूर्यको प्रकाशलाई प्रदूषणले ढाक्नाले पनि समस्या देखिने गरेको छ। छालाको रङ्ग पनि शरीरमा भिटामिन डीको अभाव हुने कारण बन्न सक्ने बताइन्छ।

आहाराबाट भिटामिन डी कसरी प्राप्त गर्ने?

खानेकुराले पनि भिटामिन डीको वैकल्पिक स्रोतको काम गर्छ। माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट भिटामिन डी प्राप्त हुन्छ। तर अधिकांश व्यक्तिहरूलाई आहाराबाट मात्रै यो प्राप्त गर्न कठिन हुन्छ।

प्राध्यापक क्याशम्यान भन्छन्,‘‘अधिकांश भिटामिन डी बढी पाइने खानेकुराहरू जनावरबाट प्राप्त हुन्छन्। सामान्यतया भन्नुपर्दा वनस्पतिबाट भिटामिन डी प्राप्त हुँदैन। अर्थात् शाकाहारबाट पर्याप्त पोषण प्राप्त नहुन सक्छ।’’

मङ्गोलियाको उदाहरण लिऔँ। बीबीसीको द फुड चेनु कार्यक्रमले गरेको एउटा अध्ययनले कम्तीमा ७० देखि कम्तीमा ८० प्रतिशत वयस्क र बढीमा ९० प्रतिशत बालबालिकामा भिटामिन डीको अभाव विद्यमान भएको देखाएको छ।

‘‘भिटामिन डी भएका खानेकुरा जोखिममा परेका समुदायका लागि अलिकति महँगै छ, ’’ मङ्गोलियास्थित क्रिस्टिना नोबेल चिल्ड्रेन्स फाउन्डेशनका व्यवस्थापक अमार्रा बोर भन्छन्। सरकारी अधिकारीहरूले देशमा बढी खपत हुने गहुँको पिठोमा भिटामिन थप्ने योजना घोषणा गरेका छन्।

बढी भिटामिन डी सेवन गर्दा हुन्छ कि हुँदैन?

अधिकांश सार्वजनिक स्वास्थ्य निकायहरूले कम्तीमा १० माइक्रोग्राम भिटामिन डी प्रत्येक दिन लिनुपर्ने सुझाव दिएका छन्। तर १०० मिलिग्रामभन्दा बढी सेवन गर्नु घातक हुनसक्छ। लामो समयसम्म भिटामिन डीको बढी मात्रा लिँदा त्यसले शरीरमा उच्च क्याल्सीअम उत्पादन गर्ने र हड्डी कमजोर हुने तथा मिर्गौला र मुटुमा क्षति पुग्ने बताइन्छ।

प्राध्यापक क्याशम्यानका अनुसार कहिलेकाहीँ थाहै नपाईकन भिटामिन डीका चक्कीहरू बढी लिँदा समस्या निम्तिन सक्छ।

हामीले अरू कसरी भिटामिन डी प्राप्त गर्न सक्छौँ?

भिटामिन डीको चक्की वा परिपूरक मात्रा लिन सकिन्छ। तर विश्वभरि दशौँ लाख मानिसहरू भिटामिन किनेर खान सक्षम नहुन सक्छन्। ‘‘त्यही भएर आहारचक्रमा नियमित खानेकुरामा बढी भिटामिन डी दिने वस्तु पार्नु एउटा विकल्प हो,’’ प्राध्यापक क्याशम्यान भन्छन्।

असी वर्षदेखि औद्योगिक देशहरू र बढ्दो रूपमा विकासशील अर्थतन्त्रहरूमा यो विधि अपनाउँदै आइएको छ। सूक्ष्मपोषक तत्त्व र कुपोषणबारेका धेरै विज्ञहरूले यसलाई भिटामिन डीको अभावसँग जुध्ने सबैभन्दा उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।

दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन, गहुँको पिठो, खाने तेल, सीरीअल, ओट मील र अण्डाजस्ता खानेकुराबाट भिटामिन डी प्राप्त हुन्छ। भिटामिन डीको अभावसम्बन्धी राष्ट्रिय तथ्याङ्कलाई हेरेर सरकारहरूले बाध्यकारी कार्यक्रम सञ्चालन ग र्ने वा खाद्यान्न उत्पादकहरूलाई आफ्ना उत्पादनहरूलाई पोषणयुक्त बनाउने जिम्मेवारी दिन सक्छ।

अहिलेको अवस्थामा क्यानडा र फिनल्यान्डजस्ता केही देश जहाँ वर्षको अधिकांश समय कम प्रभावसहितको सूर्यको प्रकाश हुन्छ त्यहाँ भिटामिन डी अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालित छन्।

सन् २०१५ मा जर्मनीमा स्वास्थ्य अधिकारीहरूले अघि बढाएको एउटा अध्ययनले भिटामिन डीको मात्रा थपिएको पाउरोटीले ६५ वर्षभन्दा बढीको उमेर समूहका महिलाहरूमा हड्डी भाँच्चिने समस्या १० प्रतिशतभन्दा बढीले नियन्त्रण गर्छ। त्यसले स्वास्थ्य क्षेत्रमा हुने खर्च बर्सेनि ३८ करोड डलर जोगाउने भनिएको छ। प्राध्यापक क्याशम्यान भन्छन्, ‘‘यो अभूतपूर्व खालको खर्च कटौती हो।’