अनेरास्ववियूले बुझायो त्रिविलाई १८ बुँदे ज्ञापन पत्र



काठमाडौँ। अनेरास्ववियू क्रान्तिकारीले त्रिविका गतिविधि सुधार गर्न १८ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ।

बिहिबार अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका उपकुलपतिलाई १८ बुँदे ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो। अध्यक्ष रञ्जित तामाङका अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मुर्त कार्यतालिका यथासिप्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने मागहरु अघि सारिएका छन्।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुको लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा गर्नुपर्ने, स्वास्थ्य बिमाको व्यवहारिक कार्यान्वयन गर्दै एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र विमा शुल्क लिने व्यवस्था गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरूपता वैज्ञानिक परीक्षा प्रणाली , समयमा नतिजा प्रकाशनको सुनिश्चितता हुनेगरी शैक्षिक क्यालेण्डर व्यवस्थित गर्नुपर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा सञ्चालित शैक्षिक कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गरियोस्। साथै प्रत्येक वर्ष शुल्कवृद्धि हुने प्रणाली खारेज गर्नुपर्ने मागहरु अघि सारेको छ।