दिल्ली–काठमाडौं हवाई भाडा आकासियो



काठमाडौँ। दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ।

मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म ४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार साढे ९ हजार रुपैयाँमा पनि टिकट पाइने गरेको थियो ।

हाल भारत र नेपालबीच ‘एअर –बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौा दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुनेगरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाका दुई, इन्डिगोका तीन, स्पाइस जेटका दुई र भिस्ताराकोएक उडान हुनेगरेका थिए ।

भुटानको ड्रयुक एयरले पनि दिल्ली–काठमाडांै–पारो उडान गर्दै आएको थियो । यसबाहेक निगमले नै बैंग्लोर र मुम्बईमासमेत उडान गर्ने गरेको थियो । कोरोना महामारीका कारण २२ मार्च २०२० देखि १६ डिसेम्बर २०२० सम्म सबै उडान बन्द गरियो । करिब नौ महिनापछि गत १७ डिसेम्बर २०२० देखि उडान सुरु गरिएको हो । नेपाल–भारत एयर बबल सम्झौताअन्तर्गत हाल दैनिक दुई उडान सञ्चालनमा छन् । जसअनुसार निगम र एयर इन्डियाले दैनिक उडान गर्दै आएका छन् ।

हाल नेपाल वायुसेवा निगमले एयर बस ३२० बाट दैनिक एक उडान गर्दै आएको छ । पर्याप्त सिट नहुँदा विगत दुई सातादेखि यो उडानका आठ बिजनेस क्लास र १५८ इकोनोमिक क्लास सिटको अकुपेन्सी औसतमा ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ । त्यस्तै अवस्था एयर इन्डियाको पनि छ । निगमले बिजनेस क्लासका लागि न्यूनतम २१ हजार ५ सय र अधिकतम सीमा २२ हजार ५ सय भारु तय गरेको छ ।

त्यसै गरी इकोनोमी क्लासका लागि न्यूनतम न्यूनतम ५ हजार ९ सय र अधिकतम १९ हजार भारु निर्धारण गरिएको छ । तर उच्च मागका कारण यात्रुहरूले माथिको दरमा टिकट पाउन मुस्किल छ । एयर इन्डियाले हवाई भाडा बजार मै खुला छाडेको छ । जसले गर्दा टिकटको माग अत्यधिक हुँदा एअर इन्डियाको हवाई भाडा ३० हजार भारु नाघ्ने गरेको छ । माग बढी हुँदा आगामी दुई सातासम्म नेपाल वायुसेवा निगम र एयर इन्डिया दुवैका अधिकांश टिकट बिक्री भइसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।