सरकार गठनबारे प्रचण्डसामु देउवाको पूरानै सर्त



काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन्। देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए। उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए। ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए।

‘तपाईं प्रधानमन्त्री बन्नुस्। यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने,‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ। अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ।’

काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ। देउवा भने अझै तयार देखिँदैनन्। उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए। देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे। बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।