प्रचण्ड सर्वोच्च अदालतमा



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सहितका नेताहरु नेकपा पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन्।

नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसला पुनरावलोकनका लागि मंगलबार सर्वोच्च अदालतमा पुगेका छन्। अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्चले नेकपा विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्ने भएको हो।

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो। सोही फैसलामा नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काइएको थियो।