आलाप दोहोरी प्रतियोगिताका विजेताले दुई लाख पाउने



काठमाडौँ। केही वर्ष पहिलेसम्म दोहोरी भन्ने वित्तिकै नकारात्मक सोच्न, लगानी नगर्ने अवस्था थियो। तर, पछिल्लो समयमा विभिन्न संघ संस्थाहरुले दोहोरी गीत संगीतको विकास र विस्तारका लागि ठूल-ठूला प्रतियोगिता सम्पन्न गरिरहेका छन्।

यसै क्रममा यहि चैत १४ गते ‘उच्च शिक्षाका लागि आलाप दोहोरी घर’ भन्ने मूल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ को काठमाडौँस्थित चलचित्र विकाश कम्पनी प्रालि. भवनमा रहेको आलाप दोहोरी घरको हलमा सम्पन्न भएको छ।

प्रतियोगिताका अध्यक्ष तथा गायक, सङ्गीतकार, एरेञ्जर झलक सङ्गीतमको अध्यक्षता तथा वाणिज्य तथा आपूर्ती राज्यमन्त्री कमला बिकको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो।

‘उच्च शिक्षाका लागि आलाप दोहोरी घर’ भन्ने मूल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७/०७८ को विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार अनि सान्त्वना हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आलाप दोहोरी प्रतियोगितामा नयाँ भाका, फरक शैलीमा प्रस्तुत हुने र बिजेतालाई २ लाख नगद पुरस्कारसहित गीतको अडियो/भिडियो उत्पादन गरिने अध्यक्ष सङ्गीतमले जानकारी दिए।

आलाप दोहोरी प्रतियोगिताको निर्णायकहरुको रुपमा राजु परियार, विष्णु खत्री, पशुपति शर्मा, रामजी खाँण, नवराज घोरासैनी, रेशम थापा, ईन्दिरा गोले, देबी घर्ती, टिका पुन, मञ्जु पौडेल, खुमन अधिकारीलगायतका सर्जक कलाकार रहेका छन्। यस प्रतियोगितामा ४ वटा समूह सगरमाथा हिमाल, कञ्चनजंगा हिमाल, धौलागिरि हिमाल र अन्नपूर्ण हिमाल रहने जानकारीमा आएको छ।