मेलम्चीको पानी धारामा



काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ।

दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ‘केयूकेल’ का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाए।

महांकालबाट पानी छाडिएको आधा घण्टामा पानी उपभोक्ताको घरको धारामा पानी पुग्ने बताइएको छ। शुरुमा चाबहिल, मित्रपार्क, बत्तिसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको वितरण केन्द्रले जनाएको छ। ​

महांकालचौर भण्डारण केन्द्रमा ८५ लाख लिटर खानेपानी स्टोर गर्ने क्षमता रहेको छ। हाल दैनिक २ करोड लिटर पानी वितरण गरिनेछ भने केही दिनपछि ३ करोड लिटर पानी वितरण गरिने बताइएको छ।