काठमाडौँ। नेपाल पत्रकार महासंघ, कालिकोटको भवनमा ट्रेन्डिङ सेन्टर सञ्चालन गरिएको पाइएको छ।
तर, महासंघको कार्यालय भने झोलामा चलिरहेकोछ। महासंघको कार्यालय भवनमा ‘ए टु जेट एकेडेमी ट्रेन्डिङ सेन्टर’ नामको संस्था सञ्चालनमा छ। पत्रकार महासंघ साखा कालिकोटका गतिविधि झोलाबाट सञ्चालित छन्।
पत्रकारीता, सूचनाबारे छलफल गर्ने, बहस गर्ने, संगठनको बारेमा छलफल हुँदा बस्ने साझा मञ्चको रुपमा स्थापना गरिएको भवनमा ट्युसन सेन्टर सञ्चालन छ। सो भवनमा महासंघको न कुनै ब्यानर छ, न त कुनै नाम।
हुन त काम नै नहुने भवनमा नाम मात्रै झुण्ड्याएर के काम? अहिले पत्रकारहरुको चुनाव लागि रहेकोछ। चुनावका बारेमा बस्नुपर्दा कार्यालय छैन। बाहिर अन्त कतै बस्नुपर्ने बाध्यता रहेको जिल्लामा क्रियाशील पत्रकारहरु बताउछन्।
महासंघको बैठक बस्नु परेमा किर्डाक नेपालमा रहेको महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको कार्यकक्षमा बस्नुपर्ने बाध्यता छ। महासंघका अध्यक्ष किर्डाक नेपालका जिल्ला संयोजक हुन्। अध्यक्ष पाण्डेले महासंघको भवनलाई बेवास्ता गरेर गैससको भवनमा बैठक राख्ने गरेका छन्।
उक्त ट्युशन सेन्टर तुलाराज पाण्डेले सञ्चालन गरिरहेका छन्। यस विषयका बारेमा बुझ्नका लागि महासंघ कालिकोटका अध्यक्ष पाण्डेलाई फोन गरेका थियौं। तर, उनले फोन उठाएनन्।