होली खेल्नेलाई पक्राउ गर्न ५ हजार प्रहरी परिचालन



काठमाडौँ। होलीमा भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ।

चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ। होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन्।

काठमाडौँ उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ। ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ।’

जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ। ‘जबर्जस्ती गर्ने र अनावश्यक हैरानी दिनेलाई कारवाही गर्छौँ,’ एआईजी पालले भने, ‘परिवारमा बसेर होली मनाउन र सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्न शुरु गरिएको छ।’

फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ। भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ।

काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ।