‘माधव नेपालबीना एमाले एकीकृत बन्दैन’



काठमाडौँ। नेकपा एमालेका प्रभावशाली युवा नेता विष्णु रिजालले पार्टीका वरिष्ठ नेता माधव नेपालबीनाको एमाले कल्पनासमेत गर्न नसकिने टिप्पणी गरेका छन्। साथै उनले नेता नेपालबीनाको एमाले एकीकृत नभएर विभाजित एमाले मात्र हुने स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता रिजालले उक्त कुरा बताएका हुन्। उनले बुदाँगत रुपमा नेता नेपालका बारेमा आफ्ना कुराहरु सार्वजनिक गरेका छन्।

‘यति कुरा प्रस्ट छः

१। आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ। ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा मालेका रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ। त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित (एमाले) मात्र हुन्छ।

२। आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन। तर, यति कुरा प्रस्ट छ, यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन।

३। तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो। तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुस्खद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ।

४। नेकपा ९एमाले० को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्नुपर्छ। फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जेजे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ।

५। अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ।

६। हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ। यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ।’