दिनेश शाहीले गरे विधावारिधि हासिल



काठमाडौँ। कालिकोटका दिनेशकुमार शाहीले जापानको टोक्यो सिटी युनिभर्सिटीबाट विधावारिधि हासिल गरेका छन्। कर्णाली प्रदेशबाट उर्जामा विद्यावारिधि गर्नेमा शाही पहिलो हुन्। विश्वका उत्कृष्ट विश्वविद्यालयमध्येको एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गरेका हुन्।

टोकियो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो। नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तरसमेत गरेका शाहीले विकासोन्मुख देशहरुले उर्जामा कस्तो नीति बनाउने?भन्ने विषयमा गहन अनुसन्धान गरेका छन्।

जिल्लाको रास्कोट नपा ५ का शाही एक सामान्य परिवारका सदस्य हुन्। उनको अध्ययनले नेपालको उर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ।

पारिवारिक स्रोतका अनुसार शाहीले उर्जा विषयमा विद्यावारिधि हासिल गरेका हुन्। उनीसँगै कालिकोटमा विद्यावारिधि गर्ने व्यक्तिहरुको संख्या दुई जना पुगेको छ।

यसअघि डा.नन्दबहादुर सिंहले पनि जापानबाटै विद्यावारिधि गरेका थिए। त्यस्तै कालिकोटकै सर्पराज रोकाय संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्ने क्रममा छन्।