सत्ता समिकरणलाई लिएर जसपामा विवाद



काठमाडौँ। जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जसपा कसैको पुछ्छर बन्न नहुने बताएका छन्।

सत्ताको नेतृत्वका लागि तयारीमा जुटेको जसपा सत्ता समिकरणको विषयलाई लिएर विभाजित बनेको छ। बिहिबार बस्ने भनेको कार्यकारणी सभाको वैठक ‘तयारी नपुगेको’ भन्दै स्थगित भएको छ। बैठकले संसदीय दलको नेताबारे एउटा निष्कर्ष निकाल्ने, सत्तामा कुन पक्षसँग गठबन्धन गर्ने भन्नेबारे निर्णय गर्ने र समायोजनका काम टुंग्याउने भनिएको थियो।

महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुपर्ने निष्कर्षमा पुगेका छन्। तर, उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायतका नेताहरु भने ओलीलाई अझै ‘प्रतिगामी’ भनिरहेका छन्।

डा.भट्टराईले ट्वीट गर्दै ‘जसपाबारे जान्नैपर्ने’ तीनवटा विषयलाई उल्लेख गरेका छन्। उनले ट्वीटमा तीनवटा बुँदा लेखेका छन्, ‘यो तासको जोकर वा सत्तारुपी जुवाको खालको च्याँखे दाउ थाप्ने खेलाडी होइन, बरु परम्परागत राजनीतिको अग्रगामी विकल्प हो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता गर्दैन, यो कसैको पुच्छर होइन, आफै देशको नेतृत्व गर्ने शक्ति हो।’