काठमाडौँ। देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ।
निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन्।
नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ। यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन्।
सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचन मिति तोकेपछि आयोगले गत ६ पुसबाट नामावली संकलन रोक्नुका साथै संकलित नामावली अद्यावधिक गरेको थियो। तर, सरकारले तोकेको निर्वाचन भने संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै स्थगित भइसकेको छ।
आयोगले निकालेको नयाँ नामावली सूचीअनुसार सबैभन्दा धेरै मतदाता मोरङमा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ छन्। त्यस्तै, सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। आजको राजधानी दैनिकमा समाचार छ।