विप्लव समूह पनि वार्ताका लागि समिति बनाउने तयारीमा



काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ। मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ।

विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले बतायो।

यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए। त्यसपछि सरकारले वार्ता समिति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।