सल्यानमा ‘रिचार्ज’ पोखरी निर्माण सुरु



सल्यान। पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ। पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो।

पानीका मुहना संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए।

डढेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यन्तै महत्व रहेको उनले बताए । उनले भने, ‘ठाउँ–ठाउँमा रिचार्ज पोखरी भए एकातिर पर्यावरण संरक्षणमा मद्दत पुग्छ भने अर्कोतिर डढेलोको उच्च जोखिम रहेको जिल्लामा डढेलो नियन्त्रणमा पनि उत्तिकै भूमिका खेल्छ।’

पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्दत पुग्नुका साथै जंगली जनावरलाई पिउने पानीको आपूर्तिसमेत भइरहेको स्थानीय चन्द्रप्रकाश शर्माले बताए। पोखरी निर्माणले पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवा हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ।

बागचौर नगरपालिकामा २० रिचार्ज पोखरी

जिल्लाको बागचौर नगरपालिकामा मात्रै विभिन्न स्थानमा २० वटा रिचार्ज पोखरी निर्माण गरिएको बागचौर नगरपालिका–३ का वडाध्यक्ष टीकाराम केसीले बताए। गत आर्थिक वर्षमा २० वटा र यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप २० वटा पोखरी खन्ने कार्यक्रम रहेको उनले बताए।

पानीका मुहान र पर्यावरण संरक्षणमा रिचार्ज पोखरी निकै प्रभावकारी देखिएको केसीको भनाइ छ। उनले भने, ‘विगतमा भएका पानीका मुहान र पोखरी सुक्दै गएकाले वनजंगलमा रिचार्ज पोखरी निर्माण गरिएको हो।’

रिचार्ज पोखरी प्रभावकारी बन्दै गएपछि जिल्लाका अन्य स्थानबाट पनि माग आउन थालेपछि आशा परियोजनाले पनि बनगाड नगरपालिका र बागचौर नगरपालिकामा रिचार्ज पोखरी निर्माण गरिदिने भएको छ। आशा परियोजनाका जिल्ला कार्यक्रम संयोजक चूडामणि खतिवडाले अहिले १० वटा रिचार्ज पोखरी निर्माण गर्ने तयारीमा रहेको उनले बताए।