नेकपा विवादको टुङ्गो नलागेसम्म कांग्रेसले सहकार्य नगर्ने



काठमाडौँ। अन्ततः नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो।

संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक अवस्थाका बारेमा कांग्रेसले उक्त बैठक बोलाएको थियो। बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको र त्यसका बारेमा पदाधिकारीहरुसँग सुझावसमेत मागेका थिए।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेकपा (ओली र प्रचण्ड समूहबीचको जारी विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिने छैन। त्यस्तै नेता अर्जुननरसिंह केसीले जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताए।

तस्बिर: मुकुन्द कालिकोटे