राजपाको सरकार सर्त: रेशमलाई रिहा र संविधान संशोधन



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहसामू सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालले केही सर्त अघि सारेको छ। बिहिबार पेरिशडाँडामा छलफल भएको छ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ। छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको छ।

छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन्। जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ। विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ।

जसपा नेपालले साझा एजेण्डाको माग पनि गरेको छ। अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए।

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए।