भारत जाँदा पीसीआर रिपोर्ट अनिवार्य



काठमाडौँ। भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ।

अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ। नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन्।

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो। अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ। अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ।

अर्कोतर्फ कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो। यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ।